दमक/
कोशी प्रदेश सरकारले नयाँ सरकार गठन भएको सय दिने उपलब्धी सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसमा प्रदेशको नामाकरणलाई मुख्य उपलब्धीको रुपमा लिइने श्रोतले जनाएको छ भने मन्त्रालयको सख्या घटाएर प्रदेशको व्यवभार कम गराउनुलाई अर्को प्रमुख उपलब्धीका रुपमा लिइने जनाइएको छ।
कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गर्नु भएको थियो ।
सय दिनको अवधिलाई समेटेर सरकारका मुख्य उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो । ‘हालसम्म सरकारले गरेका राम्रा काम सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ खनालले भन्नु भयो, ‘सबै मन्त्रालयसँग विवरण माग गरिएको छ ।’
गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्री नियुक्त गर्नु भएको थियो । त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थप भए ।
माघ ६ गते भने ६ जना मन्त्रीले जिम्मेवारी पाउनु भएको थियो । जसअनुसार बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चापागाईंलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो ।
तथापि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म मन्त्री पाउन सकेको छैन ।
नवगठित सरकारले संशोधन गरेको नियमावली अनुसार पहिले कायम रहेका ४ वटा मन्त्रालय अन्य मन्त्रालयमा गाभिएको छ ।
कार्की नेतृत्वमा रहेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने निर्णय गरेको थियो ।
नयाँ सरकार र नयाँ संसद् आएसँगै हालसम्म मन्त्रालय घटाउने र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएको छ । सरकारले गठन गरेको एक कार्यदलले प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनको निम्ति स्थिति पत्र सार्वजनिक गरिसकेको छ ।