इटहरी : सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ । बैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको हो । योसँगै सप्तकोसीमा डुबेका तीनजनाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा दमक नगरपालिका ९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी
नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।
सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार नवीनको भने बैशाख ६ गते नै घटनास्थल नजिकै करिब ४ घण्टापछि शव फेला परेको थियो ।
बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले शनिबार फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार रूद्रको शव घटनास्थल नजिकै फेला परेको थियो ।
त्यस्तै, राजुको शव भने बराहक्षेत्र नगरपालिकाको २ नम्बर वडा स्थित आठ आरडीको ठूलो कोसीमा फेला परेको उनले बताए ।
दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर मृत्यु हुने तीनैजना एकै परिवारका रहेको खुलेको छ । उनीहरू फुपु–मामाका छोराहरू रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरू परिवारसहित श्राद्धका लागि बराहक्षेत्र मन्दिर आएको समयमा कोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।