मोरङमा दुई नाबालिका  बलात्कृत

मोरङ  / 

मोरङमा दुई नाबालिका  बलात्कृत भएका छन् ।  उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षका नाबालिका  बलात्कृत भएका हुन् ।   मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिक भित्रकै सदस्यको  संलग्नता  देखिएको छ ।

३ वर्षीयालाई बलात्कार गरेको आरोपमा १२ वर्षका दाजु  पक्राउ परेका छन् ।  ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेको  आरोपमा उनका काका पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका-७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको प्रहरीले बताएको छ । पीडितका अभिभावक मोरङको कटहरी गाउँपालिका-३ घर भइ उर्लाबारी-७ मा डेरा बस्दै आएका थिए ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय काका पक्राउ परेको डीएसपी दाहालले बताए । नाबालिकाले घटनाका बारेमा आमालाई सुनाएपछि उनीमाथि बलात्कार भएको विषय बाहिरिएको प्रहरीले जनाएको छ । 

मिक्लाजुङ गाउँपालिका-४ मा बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । दलित समुदायकी नाबालिकालाई दाजु (ठूलोबुवाका छोरा)ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पीडक बालक  १२ वर्षका छन् ।

घरमा अभिभावक कोही पनि नभएको बेला दाजुले नाबालिकलाई बलात्कार गरेको पाइएको प्रहरीले बताएको छ । घटनाका बारेमा प्रहरीले शुक्रबार साँझ ७ बजेतिर जानकारी पाएको थियो । जानकारी पाए लगतै प्रहरीले नाबालिका बहिनीलाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

दुवै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने  प्रहरीको तयारी छ ।

Share: