बालिका बलात्कार आरोपी पक्राउ परेनन्, पीडित पक्ष त्रासमा

 

झापा  जिल्लाको गौरादह नगरपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटक-पटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । पीडितकी माइजूले विगत पाँच महिनादेखि बालिकालाई मारिदिने डर धम्की देखाउँदै अभियुक्त भट्टराईले बलात्कार गर्दै आएको बताइन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भएलगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

हाल फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उनले बताए।  फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ । गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाइ छ ।

प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको पीडित पक्षले बताएको छ ।

“नानी अहिले पनि बिरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ”, बालिकाकी माइजूले भनिन्, “घटना थाहा पाएलगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौं । अपराधी पक्राउ परेको छैन ।”

पीडितकी आमा खेतीपाती गर्छिन् भने बुबा मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । बालिकाको स्वास्थ्य अवस्थासमेत चिन्ताजनक बन्दै गएको जनाउँदै परिवारका सदस्यहरु दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कारबाहीका लागि दबाव बढाउन राससको सम्पर्कमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हुँदा अभियुक्त छिट्टै पक्राउ पर्ने बताए। उनले फरार अभियुक्तको तीव्र रुपमा खोजी कार्य भइरहेको र प्रहरीले चाँडै पक्राउ गरी कानूनअनुसार कारबाही अघि बढाउने जानकारी दिए।

फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाव दिने गरेको पीडितकी माइजूले बताइन्। अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उनको भनाइ छ ।

‘अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दबाव दिइनुले हामी त्रासमा परेका छौं’, पीडितकी माइजूले भनिन्, ‘बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । छिटोभन्दा छिटो दोषी पक्रिनु पऱ्यो । कानूनी कारबाही हुनुपर्यो‍ । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’

 

Share: