Search
Close this search box.

 

तुलसी बहुमुखी सहकारी संस्थाको दमक शाखाले बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ ।  बचत फिर्ता गर्न नसकेपछि केन्द्रीय कार्यालय विराटनगरसहित सहकारीको दमक,  गाईघाट र गोलबजार शाखा बन्द थियो । सहकारीको दमक शाखा र बचतकर्ताबीच भएको छलफलका क्रममा रकम फिर्ता गर्ने सहमति भएको हो ।

दमक नगरपालिकाको रोहबरमा सहकारीले सुरक्षित रुपमा रकम फिर्ता गर्ने र सहकारीको काम सुचारु गर्ने सम्झौता पनि भएको छ ।

दमक शाखाको समस्या तत्कालका लागि टुङ्गिएपनि केन्द्रीय कार्यालय विराटनगरको विवाद भने यथावत छ । सहकारीका उपाध्यक्ष, सचिव र व्यवस्थापक ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा छन् । ठगी मुद्दामा जिल्ला अदालत मोरङले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रिय प्रबन्धक मन्दीप खवासलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने फरार छन् । गत फागुन १ गतेयता केन्द्रीय कार्यालय खुलेको छैन । कार्यालय नखुलेका कारण विराटनगरका बचतकर्ताले बचत फिर्ता पाउने विषय अनिश्चित बनेको छ ।

दमक शाखाको विवादका विषयमा दमक नगरपालिकाको कार्यालयमा भएको छलफलमा क्रमवद्ध रुपमा बचत फिर्ता गर्ने सहमति भएको थियो । दमक नगरपालिका प्रमुख राम थापाको उपस्थिति भएको छलफलमा तुलसी सहकारीले सुरक्षित ढंगले आफ्नो सेवा सञ्चालन गर्ने र उसका प्रतिनिधिलाई निर्बाध ढंगले कामकाज गर्ने दिने सहमति पनि  भएको हाे ।

दुई पक्ष बिच भएको सहमतिमा एक लाख रुपैयाँसम्मको बचतकर्तालाई सहकारीले सञ्चालन गरेको गार्डेन मार्ट बजारबाट सामान खरिद गर्ने सुविधा दिने, एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्मका बचतकर्तालाई २०८० साउन महिनादेखि २५ प्रतिशतका दरले दुई÷दुई महिनामा बचत फिर्ता गर्ने सहमति भएको छ ।

५ लाख देखि २८ लाख ९९ हजारसम्मको लागि २०८० कात्तिकदेखि १५÷१५ प्रतिशतका दरले प्रत्येक दुई–दुई महिनामा बचत फिर्ता गर्ने, सो भन्दामाथि माथिका बचतकर्तालाई २०८० पुस महिनादेखि प्रत्येक दुई÷दुई महिनामा १० प्रतिशतका दरले रकम भुक्तानी गर्ने सहमति भएको थियो । पाँच लाख रुपैयाँभन्दा माथिको बचतकर्ताले चाहेमा आफ्नो बचत बराबरको जग्गा जमिन तथा भौतिक संरचना पनि लिन पनि पाउने सम्झौतामा उल्लेख गरिएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp