मोरङ / मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका करिब ३०० संगठित सदस्यले राजीनामा दिएका छन्।पालिकाको केन्द्र सार्ने विषयमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले एकतर्फीरूपमा निर्णय लाद्न खोजेको भन्दै जिल्ला कमिटी सदस्य नविन पौडेलसहित ३०० जनाले राजीनामा दिएका हुन्। सोमबार भेला गरी उनीहरूले राजीनामाको घोषणा गरेका हुन्।
वडा नं. ६ मा रहेको पालिकाको केन्द्र वडा नं. ५ मा सार्न खोजेपछि विवाद भएको हो। पौडेलले गाउँपालिका भवन सार्ने विषयमा एकलौटी निर्णय गरेको भन्दै आफूहरूले राजीनामा दिएको बताए। ‘पालिका सार्नुपर्छ भने पार्टी कमिटीमा छलफल हुनुपर्छ। त्यसको औचित्य पुष्टि गर्नुपर्छ’, उनले भने, ‘तर छलफल नै नगरी एकतर्फी रूपमा पालिका सार्न खोजिएको छ। त्यसमा विमति जनाउँदै हामीले राजीनामा दिएका हौँ।’
गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचार भएको भन्दै उनले जनप्रतिनिधिले नै त्यसको ढाकछोप गरेको आरोप लगाए। पौडेलका अनुसार वडा नं. ६ का अध्यक्ष खड्गबहादुर बस्नेत सहित वडासदस्यले समेत मंगलबार राजीनामा दिने भएका छन्।
गााउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले पनि पालिका सार्ने विषयमा असन्तुष्टहरूले भेला गरी पार्टी परित्याग गरेको आफूले सामाजिक सञ्जालबाट थाहा पाएको बताए। ‘पालिका सार्ने विषयमा पर्याप्त छलफल हुनुपर्छ भन्ने उहाँहरूको भनाइ हो’, उनले भने, ‘यसै विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको भन्ने सामाजिक सञ्जालबाट थाहा पाएँ।’
पालिकाको भवन निर्माणका लागि भवन खरिदको विषयमा विवाद रहेको अधिकारीले स्वीकार गरे । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको उनले जानकारी दिए।
कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका राममति राजमति इङ्घनाम अध्यक्ष छिन्। अधिकारी पनि एमालेबाटै निर्वाचित जनप्रतिनिधि हुन्।