एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार झुक्न नहुने बताएका छन् । दोषीलाई कारवाही गर्न सरकार झुक्न नहुने बताएका हुन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने बताए । उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगातार दुई दिन गरेको भेटवार्ताको विषयबारे पनि पत्रकारहरुले सोधेका थिए ।
जवाफमा नेता नेपालले भने, ‘संवैधानिक परिषदको विषयमा हो कि, संसद कसरी चलाउने विषय हो कि, समितिको सभापति कसरी बनाउनुपर्छ भन्ने विषय हो कि, यही विषय (नक्कली भुटानी शरणार्थी प्रकरण) हो कि थाहा भएन ।’