विराटनगर / विराटनगरमा सञ्चालन भइरहेको ‘रात्रिकालिन विराटनगर महोत्सव’मा जुवा खेलाउने गरेको पाइएको छ । विराटनगर बसपार्क दक्षिण तर्फ लागेको रात्रिकालिन मेलामा जुवा खेलाउने गरेको पाइएको हो ।
मेला अगाडि बसपार्कमा २४ सै घण्टा प्रहरी युनिट खटिएको हुन्छ । मेलाको सुरक्षामा पनि प्रहरी परिचालित छ । आयोजकले मनोरञ्जनका लागि जुवा खेलाएको बताएको छ । महोत्सव सञ्चालनका लागि सेभ नेचर फाण्डेशनले बैशाख १० गतेदेखि ३० गतेसम्म सञ्चालनको अनुमति पाएको थियो ।
मेलामा प्रत्येक दिन जुवा जन्य खेलहरु हुन्छन् । जुवा सञ्चालनका लागि आयोजक सदस्यहरु खटिएका छन् । प्रहरी कै संरक्षणमा जुवा सञ्चालन भइरहेको स्थानीय बताउँछन् ।
आयोजक संस्थाका अध्यक्ष अनिल थापाले मनोरञ्जनका लागि जुवा खेलाउने गरेको स्वीकार गरे । बैशाख १० गतेबाट सुरु मेला ३० गतेसम्म सञ्चालन हुने बताउँदै उनले जुवा खेल हुने बताए ।
मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल जुवा नखेलाउने सर्तमा महोत्सव सञ्चालनको अनुमति दिएको बताउँछन् । महोत्सव भित्रको व्यवस्थापन निजी सुरक्षा गार्ड मार्फत आयोजक आफैले गर्ने बताउँदै उनले विगतमा अनुगमन गर्दा जुवा खेलाए नदेखिएको बताए । प्रहरीलाई छलेर जुवा खेलाउने गरेको दाबी गर्दै उनले जुवा जन्य खेलमा प्रतिबन्ध लगाउने बताए ।
शनिबार मेलामा जुवा खेलाएको विषयमा रिपोर्टिङ गर्ने पुगेका स्थानीय सञ्चारकर्मी सोनु दास र कमलेश्वर यादवमाथि आयोजकले हातपात गरेको थियो । ‘हिजोको घटनापछि जुवा खेलाउने गरको विषय जानकारी आयो,’ उनले भने,‘ जुवा जन्य खेल खेलाउन पाइदैन्, रोक्छौं ।’ सञ्चारकर्मी माथि हातपात भएको घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।