छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगरमोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति १०:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मानकीदेवी आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । दुर्घटनालगत्तै मानकीदेवीलाई छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । आमाको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको खुलेको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp