भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरिएको छ ।
नगरपालिकाको नगर सभाले आ. व. २०७९र०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई बुधवारदेखि पोसिलो खानेकुरा वितरण सुरु गरिएको हो ।
भद्रपुर नगरपालिकाको आमासँग उपप्रमुख कार्यक्रमअन्तर्गत वडा नं. ६ बाट पोसिलो खानेकुरा वितरण सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए । नगरपालिकाको सभा हलमा आयोजित संक्षिप्त समारोहका बीच एक जना बराबर एक केजी घ्यु, आधा केजी मह र एकथान झुलसहितको प्याकेज वितरण गरिएको थियो ।
नगरपालिकाको सामाजिक विकास शाखाकी संयोजक सीता गुरागाईँको अध्यक्षतामा स्वास्थ्य शाखाकी निर्मला निरौलाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले महिलाहरूलाई पोसिलो खानेकुरा वितरण गरेका थिए ।
पोसिलो खानेकुराकै अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट यस आर्थिक वर्षमा करिब ९ सय सुत्केरी तथा गर्भवती महिला लाभान्वित हुने स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमभित्र समेटिन कम्तीमा चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच भएको र सरकारी अस्पतालमा प्रसूति भएको हुनुपर्ने भट्टराईले बताए ।