उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेवासमा बिहीबार घर तथा कृषि फर्ममा आगलागी हुँदा २५ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चोकबहादुर मगरको खर (फुसको छानो)ले छाएको ढुंगा र माटोले बनेको घरमा आगलागी भएको हो ।
घरमा आगलागी भएसँगै उनले सञ्चालन गरेको टिनको बेरा, टिनको छानो भएको ५ वटा सरस्वती फुलबारी पशुपालन कृषि फर्म र उनका भाइ चित्रबहादुर मगरसमेतको काठको बेरा, फुसको छानो भएको ग्वाली गोठसमेत जल्दा २५ लाख ८२ हजार रुपैयाँको क्षति भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
विद्युत् सर्ट भई आगलागी हुँदा चोकबहादुरको मात्रै २ तल्ले घर, उनले सञ्चालन गरेको पशुपालन कृषि फर्मका ५ वटा टहरा र टहराभित्र रहेका २ वटा सुंगुर, ५ तोला चाँदी, आधा तोला सुन, नगद ९० हजार र काठसमेत गरी करिब २४ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी उपरीक्षक फूयालले वताए । यसैगरी चित्रबहादुरको ग्वालीगोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजेदेखि सुरु भएको आगलागी त्रियुगा र कटारी नगरपालिकाबाट आएका वारुणयन्त्रसहित प्रहरी र स्थानीयको सहयोगमा अहिले मध्याह्न साढे १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।