झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ ।
झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बिउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो ।
लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रूपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताए । फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बिउ बैङ्कमा भण्डारण गरिएको र किसानलाई यी धानको खेतीमा प्रोत्साहित गरिएको उनले जानकारी दिए ।
कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महŒवपूर्ण रहेको बताए । उनले अधिकांश रैथाने धान लोपोन्मुख अवस्थामा रहेको जानकारी दिए ।
झापाका ३६ रैथाने धान
शिवगञ्ज क्षेत्रबाट रातो टुँडे बास्मती, कालटुँडे बास्मती, जङ्गली मन्सुली, रुद्राक्ष, कालो नुनिया ठूलो, कालो बास्मती र नाजिर जातको धान फेला परेको हो ।
सोही क्षेत्रबाट कालो नुनिया, बेलगुडी, हाप्सा रातो, हाँडीफोर, छोटी बास्मती, हाप्सा, राँगाधान, रासधान, हंशराज रातो स्थानीय, कालो नुनिया सुधार नं. १ र कालो नुनिया सुधार नं. १० जातको धान पनि फेला परेको छ । झापाको उत्तरपूर्वी बाहुनडाँगी क्षेत्रमा किसानले चुल्ठे, भोटाङे, चम्पासरी, चनाचुर, अनदी र धनकुटे जातका रैथाने धानको खेती गर्दै आएको पाइएको छ ।
केचना, कोरोबारी, लखनपुर, गौरीगञ्ज, गौरादह, महाभारा, शनिश्चरेलगायतका क्षेत्रमा कतारखेरा, रातो बच्छी, दोसरा, होडबच्छी, ठूलो मनसरा, सेतो बास्मती, लालबच्छी, बिरम्फुल, रातो बास्मती, रातो अनदी र बदल धानको खेती हुने गरेको पाइएको लि–बर्डको प्रतिवेदनमा उल्लेख छ ।
झापाबाहेक मोरङ, सुनसरी, दाङ, कैलाली र डोटी जिल्लाका रैथाने २६ जातको धानको बिउसमेत लि–बर्डले खोज तथा संरक्षण गरेको छ ।
विदेशी बिउमा बढ्यो निर्भरता
केहीदशक अघिसम्म किसान आफैले धानको बिउ भण्डारण गरेर राख्ने चलन थियो । परालको नेठी र चोयाको भकारीमा धानका बिउ किसानले राख्थे ।
सिजन भएपछि त्यही बिउलाई ब्याडमा उमार्ने र धानको बेर्ना रोप्ने चलन थियो । अहिले त्यो चलनमा ठूलो परिवर्तन आएको छ । भारतीय रञ्जित धानको बिउ नै झापालगायत तराईको अधिकांश क्षेत्रमा रोपिने गरेको छ । जसका लागि किसान स्थानीय एग्रोभेट पसल र बिउ सप्लायर्समा निर्भर हुन्छन् ।
कृषि अर्थविज्ञ शालिकराम भट्टराईले धानखेतीका लागि आवश्यक बिउबिजन आफै सञ्चित गर्ने परम्परागत चलन तोडिएका कारण विगत केही दशकदेखि रैथाने धानका बिउहरू लोपोन्मूख अवस्थामा पुगेको बताए ।
धानबालीको अनुसन्धानमा काम गरिरहेको कृषि अनुसन्धान केन्द्र तरहरा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले समेत रैथाने जातका धानका बिउको संरक्षण र खोज गरेर किसानलाई खेतीका लागि सिफारिस गर्न सकेका छैनन् ।
नुनिया र बास्मतीको माग उच्च
रैथाने धानमध्ये अधिकांश लोपोन्मुख अवस्थामा पुगिसके पनि नुुनिया र बास्मती धानको बजार उच्च छ । यी धान महँगो मूल्यमा बिक्री हुने गरेको छ ।
मेचीनगर–१० की ८२ वर्षीया माया गुरुङले अहिले पनि गाउँबाट नुनिया र बास्मती धान किनेर भात खाने गरेको बताए । ‘यी धानको भाउ अरूभन्दा धेरै महँगो छ र भातको स्वाद र बासना साह्रै राम्रो हुन्छ’–उनले भनिन् ।
पछिल्लो समयमा बजारमा बढी मूल्य पाउने आशमा धेरै जग्गा हुने किसानहरूले कालो नुनिया र सेतो बास्मती धानको खेती विस्तार गरेको पाइएको छ ।