ताप्लेजुङ / ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो र हिमपात छल्न औल झरेका भेडीगोठहरु लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै वैशाखकाे अन्तिम हप्तादेखि भेडीगाेठ हिमाली क्षेत्रतर्फ सार्न थालिएकाे हाे ।
फुङ्लिङ नगरपालिका–११ फावाखोलाका कृषक गोपाल विष्टले ३ हजारदेखि ३ हजार ५०० मिटरसम्मका हिमाली क्षेत्रमा रहेका भेडीगाेठमा भेडा सार्न लागिएकाे जानकारी दिनुभयाे । गर्मी मौसममा भेडाहरु औलमा बस्न नरुचाउने भएकाले गाेठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँकाे भनाइ छ ।
हिउँदमा अत्यधिक चिसो हुने हुँदा भेडा उच्च हिमाली क्षेत्रमा बस्न नरुचाउने र गर्मीमा बेसी बस्न नरुचाउने भएका कारण हिउँद र गर्मीमा गाेठ सार्ने गरिएकाे विष्ट बताउनु हुन्छ । भेडीगोठ यतिबेला फावाखोलाकै माथिल्लो क्षेत्र वैशाखे हुँदै हिमालतिर सार्न सुरु गरिएकाे विष्टले बताउनु भयाे ।
वैशाखे हुँदै मयाम खर्क, तापेथोक, हेल्लोक, सेखाथुम, जापानटार हुँदै करिब पाँच हजार मिटर उचाइमा रहेको सिद्धिखर्कसम्म गाेठ पुर्याउने गरिन्छ । विष्टका अनुसार सिद्धिखर्कतिर करिब तीन महिना गोठ राखेर अन्यत्र सार्ने गरिन्छ ।
पछिल्लाे समय भेडीगाेठ राख्ने चलन हराउँदै गएकाे छ । ताप्लेजुङमा फावाखोलाका विष्ट परिवारलगायतका केहीले मात्र परम्परागत पेसाको रुपमा रहेको भेडीगोठ व्यवसाय गर्दै आएका छन् । पछिल्लो पुस्ताले भेडापालन पेसा नरुचाउने तथा चरन क्षेत्रसमेत साँघुरिँदै गएका कारण भेडी गोठ राख्ने चलन हराउँदै गएको छ।