पाठेघर खस्ने रोगको निःशुल्क उपचार , उपचारपछि महिला भन्छन् :‘नयाँ जीवन पायौं’

विराटनगर कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामीण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो ।तराइको जिल्लाहरुलाई लक्षित गरी वैशाख २२ गते विराटनगरस्थित विराट नर्सिङ होममा सम्झौता गरेर आङ खस्ने महिलाहरुको निःशुल्क उपचार गर्न सुरू गरेको प्रदेश स्वास्थ्य निर्देशानलयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

स्वास्थ्य प्रदेश निर्देशानलयसँग सम्झौता गरेपछि विराट नर्सिङ होमका स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा गएर स्क्रीनिङ्ग गर्ने र आङ खस्ने समस्या भएका बिरामीलाई हस्पिटलमा ल्याएर निःशुल्क शल्यक्रिया गर्ने अभियान सुरू गरेको उनले बताए । ‘प्रदेश सरकारसँग सहकार्य गरेर यो अभियान सुरू भएको हो,’ उनले भने, ‘एक वर्षसम्म आङ खस्ने महिलाहरुको विराटमा निःशुल्क शल्यक्रिया हुन्छ ।’

विराट नर्सिङ होममा आङखस्ने महिलाहरुको उपचार गर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिहं कार्कीसहितको १० जनाको टिम रहेको छ । एक जना बिरामीको शल्यक्रिया गरी उपचार गरेको १२ हजार ५०० रुपैयाँ विराटले पाउने उनले बताए । शल्यक्रिया गरेपछि डिर्चाज हुने हिमाली जिल्लाका महिलाले एक हजार पाँचसय, पहाडी जिल्लाकाले १ हजार र तराइकाले ५०० रुपैयाँ यातयता खर्च पनि पाउने उनले बताए । विराट बाहेक धनकुटा, तेह्रथुम, उदययुर र मेची अस्पतालमा पनि आङ खस्ने बिरामीको उपचार हुने गरेको उनले बताए ।

उपचार पाएका बिरामी भन्छन्, ‘नयाँ जीवन पायौं

सुनसरीको चक्रघट्टीकी ३६ वर्षीया कल्पना भारतीले विराटनगरस्थित विराट नर्सिङ्ग होममा पाठेघरको शल्यक्रिया गरेपछि स्वास्थ्य हलुङ्गो भएको महसुस गरेकी छिन् ।

‘पाठेघरको शल्यक्रिया गरेपछि हलुको भो । रोगले थला पा¥यो,’ शल्यक्रियापछि उनले आफ्नो पीडा अनुभव बाँडिन्, निःशुल्क शल्यक्रियापछि अहिले स्वास्थ्य हलुका भएको महसुस गरेको छु ।’

पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित भएको उनले सुनाइन् । ‘लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ न स्वास्थ्यकर्मीलाई । समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ,’ शल्यक्रियापछि उनले भनिन्, ‘उपचारपछि स्वास्थ्य सहज अनुभव भएको छ । पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो, अब सहज छ ।’

सुनसरी इनरुवा ७ की ६४ वर्षीया जलेश्वरीदेवी खत्रीको पनि पाठघेरको शल्यक्रिया २४ वैशाखमा गरिन् । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनी सन्तान जन्माइ पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा वर्षैदेखि कष्टपूर्ण जीवन व्यतित गर्नुपर्यो । पाँच सन्तानकी आमा खत्रीको विराट नर्सिङ होममा पाठेघरको सफल शल्यक्रियापछि उनले पुनर्जीवन पाएको महसुस गरेकी छन् ।खत्री र कल्पना जस्तै पाठेघरको समस्या भएकी सुनसरी भोक्रहाकी ८५ वर्षीया खुसीदेवी मेहताले लाजले गर्दा उपचारका लागि स्वास्थ्य संस्था नगएको बताइन् । तर गाउँ नजिकै केही समयअघि स्वास्थ्य शिविर बसेको र त्यहाँ महिला डाक्टर आएका छन् भन्ने थाहा पाएपछि उनले उपचार गराइन् ।

सोह्र वर्षकै उमेरमा विवाह गरेर १८ वर्षको उमेरमा बच्चा जन्माएकी मेहता पाँच सन्तानकी आमा हुन् ।’ उनले लाजले गर्दा लामो समयसम्म कसैसँग आफ्नो समस्या नसुनाएको बताइन् । ‘पीडा सहेरै बसेकी थिएँ, केही समयअघि गाउँमा शिविर आएको थाहा पाएपछि उपचारका लागि त्यहाँ गएँ’, उनले भनिन्, ‘डाक्टरले रिङ प्रेसर राखिदिनुभएको छ, त्यसले पनि ठीक नभए अप्रेसन गरेर फाल्नुपर्छ भन्नुभयो, अहिले केही ठिक भएको छ ।’ आफ्नो गाउँका धेरैजसो महिलालाई आङ खस्ने समस्या रहेको उनले बताइन् ।

चिकित्सककाअनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ । तराइको ग्रामीण र पहाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् ।

स्क्रिनिङ्ग गरेर गरेर आएका ३५ वर्षदेखि ८५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।तीन डिग्री खसेको महिलाहरुको शल्यक्रिया गरिनुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रेरणा दाहालले बताइन् । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौं भारी बोक्ने र धुम्रपानलगायतका कारण पाठेघर खस्ने डा. दाहालको भनाइ छ । दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको उनले बताए । ‘पीडित महिला पति, सासु,ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?’, डा. दाहाले भनिन् ।

पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनले बताइन् । अंग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई संक्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp