फालेलुङ : पाँचथरको फालेलुङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ । पालिकाको केन्द्र थकेपुङमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले यो पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । यहाँका बालबालिकाहरूलाई खोपको सबै मात्रा र प्रक्रिया पूरा गरेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा समन्वय प्रमुख आङ्देम्बेसहित जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापो,नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ,स्वास्थ्यकर्मीलगायत स्थानीय नेता र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइने सबै खोपको मात्रा पूरा गरेपछि खोपा सुनिश्चित पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले जानकारी दिए । खोप अभियानका सबै मापदण्ड पूरा गरेपछि यो पालिकालाई जिल्ला खोप समन्वय समिति पाँचथरले ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने निर्णय गरेको थियो । घोषणा कार्यक्रममा पालिकालाई स्वास्थ्य कार्यालय पाँचथरले ‘पूर्ण खोप सुनिश्चित’भएको प्रमाणपत्र प्रदान गरेको छ ।
२० हजार ६ सय ३४ जनसंख्या रहेको यो पालिकामा १५ महिना मुनिका ४ सय र ५ वर्ष मुनिका १ हजार ७ सय ५८ जना बालबालिका छन् । पालिकामा रहेका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरिएको फालेलुङका स्वास्थ्य शाखा प्रमुख सुरज कुमार पासवानले जानकारी दिए ।
घोषणा कार्यक्रमको अवसरमा पालिकाका ४० जना महिला स्वयंसेविकालाई छाता र व्याग वितरण गरिएको थियो । पालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा उपाध्यक्ष महेन्द्रहाङ जबेगुले स्वागत मन्तव्य राखेका थिए ।