इटहरी : कारको ठक्करबाट इटहरीकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका ९ की ७० वर्षीया मिथिला पोखरेलको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पैदल यात्रामा रहेकी उनलाई १० दिनअघि कारले ठक्कर दिएको थियो । पोखरेललाई कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका ४ मा बागमती प्रदेश बी. ए. बी. २२४६ नम्बरको कारले गत वैशाख २८ गते बिहान ठक्कर दिएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कारको ठक्करबाट घाइते भएपछि उनलाई उपचारका लागि नोबेलमा भर्ना गरियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उपचारकै क्रममा शनिबार साँझ ५ः१५ बजेतिर उनको मृत्यु भएको हो ।
कारले ठक्कर दिएर घाइते भएकी वृद्धाको उपचार कार चालक विराटनगर ४ का ५६ वर्षीय प्रभाकर देवकोटाले नै गराउँदै आएका थिए ।
तर, उपचारका क्रममा वृद्धाको मृत्यु भएपछि देवकोटालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी दाहालले जानकारी दिए ।