दमक/
झापामा पुल निर्माण गर्न भनी खरिद गरेर राखीएको सामान रहस्यमय तरिकाले हराएपछि त्यसमा स्थानियको चासो बढेको देखिन्छ । जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ जोड्ने गरी टिमाई खोलामा निर्माण थालिएको झोलुंगे पुलको निर्माण सामग्री रहस्यमय ढंगले हराएका हुन ।
पुल निर्माणस्थल वडा नम्बर ७ जहरेबरस्थित खोला किनारमा राखिएका निर्माण सामग्री हराएको हो ।
गाउँपालिकाका प्राविधिकका अनुसार स्टिल डेक १८ थान, स्टिल क्रस बिम ९६ थान, सस्पेन्डर्स ३८ थानसहित ६ किसिमका सामान हराएका हुन् । १३ लाख ३० हजारभन्दा बढी मूल्यका १० हजार केजीभन्दा बढी निर्माण सामग्री रहस्यमय ढंगले हराएको हो ।
जहरेबर-एक्लेबर झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव अर्याल निर्माण सामग्री चोरी भएको दाबी गर्छन् । उनका अनुसार गत चैत १९ गते साँझ ४/५ बजेतिर सामान चोरी भएको हो । ‘चैत १६ गतेसम्म सामान थियो । १९ गते बेलुकातिर आएर हेर्दा सामानको थाक पुरै घटेको थियो’ उनले भने,‘तत्काल गाउँपालिका र प्रहरीलाई सामान चोरी भएको जानकारी दियौं । प्राविधिक र हामीले सामान चेक गर्दा १३-१४ लाखको सामान चोरी भएको रहेछ ।’
गाउँपालिकाका इन्जिनियर एवं पूर्वाधार विकास प्रमुख विक्रम दाहालले पनि निर्माण सामग्री चोरी भएको दाबी गर्छन् । ‘सामान चोरी भएको हो । प्रहरीले अनुसन्धान गरिरहेका छन्,’ उनले भने ।
पुल निर्माण भए वडा नम्बर ६ र ७ का माथिल्लो सुनमाई, सतीगौडा, बगरे बस्ती र छिमेकी जिल्ला इलामको रोङ गाउँपालिका समेतका गरी ५ सयभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । झोलुंगे पुल निर्माण सम्पन्न गर्न ९० लाख ३९ हजारको लागत अनुमान गरिएको छ । गाउँपालिकाले ११ लाख ७५ हजार, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को श्रम तथा जिन्सीसमेत गरी ७६ लाख ८३ हजार र जनश्रमदान १ लाख ८० हजार रहने उल्लेख छ । १ सय १७ दशमलव ४० मिटर लम्बाईको झोलुंगे पुल निर्माणका लागि गत मंसिर २५ गते शिलान्यास गरिएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने अध्यक्ष अर्यालले जानकारी दिए ।
पुल निर्माणका लागि गाउँपालिकाले ४३ लाख १९ हजार ९ सय ५२ रुपैयाँको निर्माण सामग्री खरिद गरेको थियो । बुटवलको जुनकिरी इन्डस्ट्रिज वर्कर्स प्रालिले गत कार्तिक १८ गते उक्त मूल्य बराबरको निर्माण सामग्री पुल निर्माणस्थल जहरेबरस्थित टिमाई खोला किनारमा झारेको थियो । उपभोक्ता समितिले गाउँपालिकाबाट ८ लाख ९४ हजार पेश्की लिएर पुल निर्माणको काम सुरु गरेको थियो ।
फागुन अन्तिमतिर समितिले ७ लाख ८५ हजार भुक्तानी माग गर्दै रनिङ बिल गाउँपालिकामा पेस गरेको थियो । तर, गाउँपालिकाले भुक्तानी दिन केही समय ढिला गर्यो । भुक्तानी नपाएपछि उपभोक्ता समितिले चैत ४ गतेदेखि काम रोकेको थियो । काम रोकेकै समयमा निर्माण सामग्री हराएको अध्यक्ष अर्यालले बताए ।