कोसी प्रदेशसभा घेराउ गर्ने पहिचानवादीको घोषणा 

विराटनगर कोसी प्रदेश सरकारले बजेट अधिवेशनको मिति टुंगो लगाएसँगै पहिचानवादीबाट प्रदेशसभा घेराउको कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश नामकरणको विरोध गरिरहेका राजनीतिक दल र संघ–संस्थाले यही जेठ १४ गते प्रदेशसभा घेराउ गर्ने जनाएका छन् ।

अहिले उनीहरूले जिल्लाकेन्द्रित आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । जेठ १४ देखि प्रदेश राजधानी विराटनगरकेन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

कोसी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने उनीहरूको माग छ । पुनः नामांकन समितिले आफूहरूको माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने जनाउँदै आएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले कोसी नाम नफेरिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए ।

गएको फागुन १७ गते प्रदेशसभाबाट दुईतिहाइभन्दा बढी मतसहित कोसी प्रदेश नाम पारित भएको थियो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp