समर्थन फिर्ता लिँदै कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

विराटनगर  /  जनता समाजवादी पार्टी(जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै मन्त्री लिम्बूलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेम्जोङले बताए ।बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन रहेको छ ।

सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । साथै मन्त्री लिम्बूले सदनमा नामकरणका बेला विपक्षमा हस्ताक्षर नगरेकाले पनि पार्टी नेतृत्व उनीसँग असन्तुष्ट भएको बुझिएको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । जसमा माओवादी केन्द्रबाट जीवन आचार्यले पर्यटन, वन तथा वातावरण र दुर्गा चापागाईंले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । तर कांग्रेसले निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा माओवादी केन्द्रलाई एमालेको सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गर्दै आएको छ ।

यस प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मात्रै कोशी प्रदेशमा सरकार फेरबदल हुने अवस्था निर्माण हुनेछ । तर यो अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक हुने छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp