नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

पाँचथर /  भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका १ का गङ्गाप्रसाद आङदेम्वे र भारत आसाम निवासी समिति आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार भारतीय नागरिक समिति गङ्गाप्रसादका झड्केलो छोरा हुन् । आङदेम्वेद्वय यसअघि पनि पटक–पटक नागरिकता लिन प्रशासन कार्यालय आएका थिए । प्रहरीका अनुसार पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका थिए ।

पक्राउ परेका समितिको यसअघि नै भारतबाट नागरिकता लिन भारतीय मतदाता नामावलीमा समेत नाम समावेश भएको पाइएको थियो । समितिकी आमाको पहिलो विवाह भारत आसामका नागरिकसँग भएको थियो ।

दोस्रो विवाह गरेर गङ्गासँग आएकी उनले अङ्गीकृत नागरिकता प्राप्त गरेकी छन् । समितिको नागरिकता बनाउन माझिटार आधारभूत विद्यालय हिलिहाङको लेटरप्याडमा चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बुधबार पाँचथर जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रनाउ खतिवडाले जानकारी दिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp