विराट अस्पताल रित नपुर्‍याई सञ्चालन

 

विराटनगर मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको  विराट शिक्षण अस्पताल रित नपुर्‍याई सञ्चालनमा रहेको पाइएको छ। बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक अमृता कुमारी गच्छदारको नेतृत्वमा खटिएको अनुगमन टोलिका अनुसार सो अस्पताल रित नपुर्‍याइ सञ्चालन गरिरहेको पाइएको हो।

अस्पताल रित नपुर्‍याई सञ्चालनमा रहेको भेटिएपछि गाउँपालिकाले सात दिने अल्टिमेटम दिएको छ। अस्पतालले पार्किकमा शुल्क लिएको, विपन्न तथा असहायको लागि छुट्याएको वेडको १० प्रतिशत निःशुल्क नगरिएको, अनुगमनकर्ताहरूलाई अस्पतालको आवश्यक कागजातहरू प्रस्ट रूपमा दिन नसकेको, ढल व्यवस्थित नगरी मानव वस्तीतिर निकाशा गरेको भनी गाउँपालिकाको अनुगमन टोलीबाट सातदिने अल्टिमेटमसहित पत्र काटिएको हो। अनुगमन टोलीका संयोजक गच्छदारले व्यावसायिक दर्तासमेत नवीकरण नगरेको भेटिएपछि सात दिनभित्र सबै रित पुर्‍याउन निर्देशन दिएको बताइन्।

त्यसैगरी, अस्पतालभित्र रहेको विराट मेडिकल कलेज फार्मेसी प्रालिको लाइसेन्स पनि जफत गरिएको छ ।  उचित तापक्रममा औषधि नराखेको तथा सबै औषधिको रेकर्ड नभेटिएकाले ७ दिनभित्र औषधि व्यवस्थापन विभागमा उपस्थित हुन फार्मेसीलाई पत्र काटिएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp