टिपरको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर / मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीमा टिपरको ठक्करबाट घाइते भएकी १ जना वृद्धाको बुधबार साँझ मृत्यु भएको छ ।

गिट्टी बोकेर भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले ठक्कर दिँदा रंगेली–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार टिपरले दिउँसो १२:३० बजेतिर ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएकी थिइन् ।

विराटनगरको न्युरो अस्पतालबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ७:४० बजेतिर वृद्धाको मृत्यु भएको प्रनि श्रेष्ठले बताए । उनका अनुसार बाटो काट्दै गर्दा टिपरले वृद्धालाई ठक्कर दिएको हो ।

टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp