मोरङ — नागरिकता नबनेको विरोधमा सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारका २६ वर्षीय निरज कामतले नागरिकता प्राप्त गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नागरिकता प्राप्त गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले कामतलाई नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेका छन् । जन्मको आधारमा नागरिकता पाएका बुबा किसुनदेव कामत र वंशज नागरिकता प्राप्त गरेकी आमा गुलाबदेबी चौधरीकी जेठो छोरा निरजले वंशज नागरिकता प्राप्त गरेका हुन् । निरजले समयमा नागरिकता नपाउँदा प्रहरीमा भर्ना हुने सपना अधुरै रहेको र नागरिकता पाउने कि नपाउने तनावले बीबीएसको पढाइ पूरा गर्न नसकेको गुनासो पोखे । ´समयमा नागरिकता नपाउँदा राज्यले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित हुनुका साथै अनागरिक भएर बस्न बाध्य भयौं,` उनले भने, ´मृत्युको मुखबाट फर्केर नेपालको नागरिक हुन पाएँ, खुशी लागेको छ । हाम्रो आन्दोलन सफल भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरूद्धमा परेको रिटका आधारमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि नागरिकता ऐन कार्यान्वयन हुन सकेको थिएन । त्यसको विरोधमा कामतले सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सर्वोच्च अदालतमा परेको रिट टुंगिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका छोराछोरीलाई नागरिकता वितरण सुरू गरेको छ ।