Search
Close this search box.

विराटनगर  : मोरङको पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना मंगलबार राति बिरामी परेका छन् ।  सिकिस्त अवस्थाका बिरामीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार विजयले घरनजिकको बाँस झ्याङमा उम्रिएको च्याउ टिपेर ल्याएको र पकाएर तरकारीका रूपमा परिवारका सबै जनाले खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘च्याउ खाएपछि परिवारका सबै जना बिरामी परेछन्,’उनले भने, ‘उपचारका लागि राति १० बजेतिर विराटनगर लगिएको छ ।’ प्रहरीले जथाभावी हिसाबले जंगली च्याउ नखान सबैमा अनुरोध गरेको छ । ‘जंगलमा उम्रिएका धेरै च्याउ विषालु हुन्छन् । नचिनिकन खाँदा मानिसको ज्यान जान्छ,’डीएसपी भण्डारीले भने,‘त्यही भएकाले जथाभावी उम्रिएका च्याउलाई तरकारीका रूपमा प्रयोग गर्न हुँदैन । सबै सचेत भएर सावधानी अपनाउन आवश्यक छ ।’

 

Share:

Facebook
Twitter
Email
WhatsApp