विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । उनले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । उद्धव थापाले कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एसका ४ र जसपाका एक गरी ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।
प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पछगरी ४६ सांसद विपक्षीमा छन् । नेकपा एमालेको नेतृत्वमा रहेको एक मात्र कोशी प्रदेशको सरकार ढलेपछिे संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलका लागि नयाँ सरकार गठनको आव्हान गरेका थिए ।
प्रदेश प्रमुखले आज अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए । प्रदेशमा कुनै पनि दलको बहुमत छैन् ।
एमालेले भने सभामुखसमेतलाई गणना गरेर सरकारको दाबी गरे थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । बिहीबार दिउँसो एमाले संसदीय दलले प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै सभामुखलाई गणना गरेर मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको हो ।