कोशी प्रदेश सरकारविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च पुग्यो एमाले

कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो ।

रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन् ।

प्रमुख सचेतक भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिएका छन् । ‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ’, भण्डारीले बताए । उनले ‘उक्त उपधाराअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदिन परमादेश माग गरिएको छ ।’

सभामुख गौतमले समेत हस्ताक्षर गरेर संविधानको प्रक्रिया मिच्दै सरकार बनाइएकोले त्यसविरुद्ध सर्वोच्चमा रिट हालिएको भण्डारीले बताए । भण्डारीले निर्णायक अवस्था वा सरकार गठन प्रक्रिया संविधानको धारा १६८(५) मा पुगेको अवस्थामा मात्रै सभामुखको भूमिका सरकार गठनमा आउने दाबी गरे । एमाले सर्वोच्च आउनुअघि नै मुख्यमन्त्रीमा नियुक्त भएका थापाले शुक्रबार बिहान ९ बजे शपथ लिएर पदबहाली गरिसकेका छन् ।

 

Share: