वडाको स्वास्थ्य केन्द्रमै मुटुको परिक्षण

दमक/
दमक ९ कि लालमाया रञ्जितकार यहाँको स्वास्थ्य केन्द्रमा भेटिनु भयो । हातमा पुर्जा र केहि औषधि बोकेर उहाँ निस्कन लाग्नु भएको थियो ।
यहि बेला हामीले सोध्यौ केको औषधि बोक्नु भएको भने ।

‘मुटु दुखिसहन्थ्यो । कस्तो रहेछ भनेर देखाउन आएको डा.सावले चेक गरेर लेखिदिएको औषधि बोकेकी ।’ उहाँले आफ्नो मुटुको अवस्थाबारेमा आम्दा अस्पतालमा कार्यरत डा. सुरज नेपालीलाई देखाउनु भएको थियो ।

गत सुक्रबार डा. सुरजले दमक नगरपालिकाको वडा नं ६ मा रहेको स्वास्थ्य केन्द्रमा आएर आफ्नो सेवा दिनु भएको थियो ।
वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविरमा आएर स्वास्स्थ्य परिक्षण गर्ने काम गरिएको उहाँले बताउनु भयो ।

शिविरमा आउने अधिकांशहरुमा नसर्ने रोगहरुको परिक्षण भएको उहाँको भनाई छ । यसले दमकको मुख्य बजार क्षेत्रका नागरिकको परिक्षण गर्दा नसर्ने रोगहरुको स्थिती चिन्ताजनक रहेको उल्लेख गर्नु भयो । खासगरि खानपान, व्यस्त दैनिकी, कम शारिरिक अभ्यासका कारण यस्ता रोगहरुको जोखिम बढिरहेकोले ध्यान दिन उहाँले सुझाव दिनु भएको छ ।

विभिन्न औषधी कम्पनीहरुले यहाँ सम्पन्न भएको शिविरमा निशुल्क औषधि प्रदान गरेका थीए । मुटु, मधुमेह तथा प्रेसरलाई चाहिने बिभिन्न प्रकारका औषधीहरुको प्रबन्ध गरिएको औषधी व्यवसायी सघं झापाका अध्यक्ष गौतम गुप्ताले बताउनु भयो । उहाँका अनुसार करिव २ देखी ३ लाख रुपैँया बराबरको औषधि शिविरमा ल्याइएको र शिविरमा वितरण गरेर बाँकी रहेका औषधिहरुलाई स्वास्थ्य केन्द्रलाईनै प्रदान गरिएको पनि उहाँले जानकारी दिनु भएको छ ।

 

वडाले आफ्नो वडाबासीको मुटु, मधुमेह तथा प्रेसरको स्थिती कस्तो रहेछ भन्ने कुराको थाह पाउन यो शिविर आयोजना गरेको थियो । यसले वडाको स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने कुराको केहि अनुमान गर्न सकिने स्वास्थ्य स्वास्थ्य केन्द्र दमक ६ का प्रमुख चेनत निरौलाले बताउनु भयो ।

वडाबासीको स्वास्थ्य अवस्था थाह पाएपछि वडामा अव स्वास्थ्य सम्बन्धीका कस्ता काम गर्नुपर्ने रहेछ भन्ने कुराको पनि थाह हुने भएकोले यो निशुल्क शिविर आयोजना गरिएको वडाध्यक्ष टेक बहादुर थापा बताउनु हुन्छ । यसले स्वास्थ्यको अवस्था थाह पाउँनैकालागि अस्पताल गइरहनुपर्ने अवस्थाको अन्त्य हुने विस्वास वडाले राखेको पनि उहाँले सुनाउनु भयो ।

यता दमक नगरपालिकाका प्रमुख राम कुमार थापा भन्नु हुन्छ यस प्रकारको सेवा दमकका हरेक वडामा प्रत्येक महिना पुर्याउने निति बनाइएको छ । अव हरेक वडाबाट विषेशज्ञ सहितको स्वास्थ्य सेवा पाइने उहाँले उल्लेख गर्नु भयो ।

नागरिकका स्वास्स्थ्य सम्बन्धीका सामान्य समस्यालाई वडामै रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट हल गर्ने र निशुल्क एम्बुलेन्सको सुविधा पनि दिने तयारी नगरले बनाएको स्वास्थ्य सम्बन्धीको नितिमा समावेश गरिएको नगर प्रमुख थापाको भनाई छ ।

यता कोशी प्रदेशका प्रदेश सभा सदस्य होम बहादुर थापाले यस प्रकारको स्वास्थ्य शिविरले नागरिकमा सामान्य भन्दा सामान्य स्वास्थ्य समस्या हुँदा पनि अस्पताल जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो । यसलाई सबैतीर अझ प्रभावकारी बनाएर अघी बढाउन आवश्यक बजेट र कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिइने उल्लेख गर्नु भएको छ ।

सोहि अवसरमा आधारभूत स्वास्थ्य केन्द्रको नयाँ ल्यावको पनि उद्धघाटन गरिएको थियो । प्रदेशसभा सदस्य होम थापा, नगर प्रमुख राम कुमार थापा , वडाध्यक्ष टेक बहादुर थापा लगायतले संयूक्त रुपमा सो ल्यावको उद्धघाटन गर्नु भएको थियो ।

साथै शिविर सम्पन्न गर्ने विभिन्न ओषधि वितरक एवं अन्य सहयोगीहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।

Share: