ट्राफिक प्रहरीको लापसे अभियान सुरु

विराटनगर  सार्वजनिक सवारीसाधनका कर्मचारी, चालक, सहचालक, परिचालकलाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।

ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे चेकजाँच अभियान सुरु गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले आइतबार शुभारम्भ गरे ।

सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आइतबारदेखि चेकजाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागू औषध सेवन गरे/नगरेको पत्ता लाग्ने उनले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे ९मादक पदार्थ सेवन० चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे/नगरेको पत्ता लाग्छ ।

ट्राफिक प्रमुख श्रेष्ठले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।
तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।

‘चालकले लागू औषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’

उनका अनुसार लागू औषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागू औषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागू औषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उद्देश्य रहेको जानकारी श्रेष्ठले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

चेकजाँचका लागि आवश्यक पर्ने किट मोरङ ट्राफिक प्रहरी कार्यालयलाई नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपलब्ध गराएको थियो । थप आवश्यक परेमा प्रदेश सरकार र कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने भएको छ ।

किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागू औषध सेवन गरे/नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागू औषध सेवन गरेको यकिन हुन्छ । अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुई वटा राता धर्का देखियो भने लागू औषध सेवन गरेको छैन भन्ने प्रस्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।

 

Share: