मन्टेश्वरीको सेप्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि सञ्चालकसहित तीन जना पक्राउ

विराटनगर  मन्टेश्वरीका विद्यार्थीको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएपछि सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । झापाको सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना पक्राउ परेका हुन ।

गत सोमवार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको थियो । मेचीनगर नगरपालिका १०मा रअ‍ेको मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर ११ का मनोज गुरुङ र रमा सुनार र मेचीनगर–१० की अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौं ३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् ।

सेप्टी ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलवार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यानसम्बन्धी कसुरमा कानूनी कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए ।

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै छ ।

 

Share: