निजी विद्यालयको छात्रावासमा बसेका एक विद्यार्थी सुतेकै स्थानमा मृत भेटिएपछि इटहरी उपमहानगरपालिकाले छात्रावासमा ताला लगाएको छ ।
इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएपछि अनुगमनका लागि पुगेको उपमहानगरपालिकाको टोलीले सोही स्कुलको छात्रावासमा ताला लगाएको हो ।
अनुगमनका क्रममा इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले मृतक विद्यार्थी बस्ने सेकेन्डरी माध्यमिक विद्यालयको छात्रावास बन्द गर्न निर्देशन दिए । न्यूनतम मापदण्ड पुरा नगरेकाले बन्द गराएको बताउँदै उनले मापदण्ड पुरा भएपछि मात्रै सञ्चालन गर्न दिइने बताए ।
मंगलबार उपमहानगरपालिकाले विभिन्न छात्रावासको अनुगमन गरेको थियो । नगरप्रमुख पौडेल नेतृत्वको अनुगमन टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास सुधारका लागि पनि निर्देशन दिएको छ ।