झापा । झापा, मोरङ, उदयपुर र धनकुटाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र औषधीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का २७ वर्षीय तिलकराम खवास, २२ वर्षीय रेसम गौतम र १९ वर्षीय दीपक साहलाई ४ ग्राम ब्राउन सुगर, नगद ९ हजार, डिजिटल मेसिन १ थान र दमक- ४ स्थितबाट २९ वर्षीय कुशल राईलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै धनकुटा नगरपालिका- १ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका- २ का २० वर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
मोरङको लेटाङ नगरपालिका- २ बाट २३ वर्षीय थिर बहादुर राउत, २२ वर्षीय एनोष तामाङलाई ४९ मिलिग्राम ब्राउन सुगर र मिग्लाजुङ गाउँपालिका- ३ का २५ वर्षीय दिलीप थापालाई लागु औषध स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका- ६ स्थितबाट त्रियुगा नगरपालिका- ११ का २१ वर्षीय शिव अधिकारी, २० वर्षीय सिताराम चौधरीलाई डाईजोपाम, फेनारन, प्रिनोर्फिनसहित ६६ एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।