भारी वर्षाले झापाका विभिन्न क्षेत्र डुबानमा

भारी वर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेको छ।

बुधबार रातिबाट आएको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानको जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए।

केही ठाउँमा नदीले कटान र डुवान सुरु गरेको छ,’ प्रजिअ पोख्रेलले भने, ‘उद्धारका लागि सुरक्षा निकायका टोली तैनाथ राखेका छौँ।’

बाढीले हालसम्म विस्थापित र धनजनको क्षतिको विवरण प्राप्त नभएको उनले बताए।

रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ।

केही नदीका पानी गाउँ पसेको छ।

‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग डुबानमा छ। विस्थापितको संख्या कम भए पनि हजारौं घर डुबानमा परेका छन्,’ उनले भने, ‘केही नदी बस्तीमा पस्ने खतरा छ।’

उनका अनुसार झापाका भद्रपुर, पाठामारी, केचनाकवल, महेशपुर, बनियानी, गौरिगञ्ज, झापा लगायतका क्षेत्र डुबानको खतरा रहेका स्थानहरूमा झन्डै ३०० युवा परिचालन गरिएको छ।

झापाका शिवसताक्षी, भद्रपुर, कचनकवल, गौरिगञ्ज, मेचीनगर, गौरादह लगायतका पालिका वर्षेनीका बाढीबाट प्रभावित हुने पालिका हुन्।

 

Share:

Facebook
Twitter
Email
WhatsApp