बिराटनगर/
शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् ।असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि किसिमको हानिनोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्यवस्थाबाट कृषकले मनोबल उच्च भइरहेको पाइएको छ ।
आफ्ना मेहनत, परिश्रम र लगानी खर्च भएको यस व्यवसायलाई अझ व्यवस्थित गर्न बीमा कम्पनीले आफ्ना योजनालाई सहज र सरल बनाउनुपर्ने कृषकको धारणा रहेको छ ।विसं २०६९ माघ १ गते सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमा प्रारम्भमा रु ६२ करोडको बीमा भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा कूल रु ४२ अर्ब पुगेको र आउने वर्षमा करिब रु ५५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
देशभरमा २० बीमा कम्पनीले कृषकको लाभमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङका प्रमुख विनोद मण्डलले जानकारी दिनुभयो ।