चुलाचुलीको चाल, सिमल तरुलको खेतीनै नगरेकालाई लाखौको अनुदान, लिनेमा जनप्रतिनिधी र कर्मचारीका आफन्तनै

 

 

दमक/

नितिगत भ्रष्टचार कसरी हुन्छ भन्ने कुराको उदाहरण हेर्ने हो भने एक पटक इलामको चुलाचुली गाउँपालिकामा गए देख्न पाइने रहेछ ।

 

यहाँ संघिय सरकारले अत्यन्तै राम्रो र माटो सुहाउँदो कार्यक्रम सञ्चालन गर्न भन्दै २ करोड रुपैँया रकम बिनियोजन गरि पठाइदियो । कार्यक्रम थियो गाउँपालिकामा भरि सिमल खेती गराएर उत्पादन अधिक बढाउने र गाउँमै सावु दाना उद्योग स्थापना गर्ने ।

 

कार्यक्रम यहाँको भुगोेल, माटो र किसानको कर्म बुझेर नै आएको हो । तर यसको कार्यान्वायन भने पार्टिका कार्यकर्ता, जनप्रतिनिधीका आफन्त र नातेदारमै सिमित पारिएको रहेछ ।

 

अझ रोचक कुरा त के भने यहाँ जसले खेती नै गरेका छैनन , जसले एउटा पनि सिमल तरुलको बोट रोपेका छैनन उसैका नाममा हजारौ र लाखौ रुपैँया बजेट भुक्तानी गरिएको छ ।

 

यहाँको वडा नं ४ का वडाध्यक्षको नाम हो सागर जबेगु । उहाँले उहाँको भाई आकाश जबेगुले४५ कट्ठा जमिनमा सिमल तरुल खेती गरेको भन्दै गाउँपापिलकालाई त्यो बराबरको अनुदान रकम दिन सिफारिस गरिदिनु भयो ।

 

यहि सिफारिसको आधारमा बिना अनुगमन पालिकाले वडाध्यक्षका भाईका नाममा २ लाख ७९ हजार ९ सय ४५ रुपैँया भुक्तानी गरेको छ । तर फिल्डमा आकाशको नाममा न ४५ कट्ठा जमिननै छ न कसैको जग्गा भाडामै लिएर भएपनि त्यस परिणाममा खेती नै गरिएको छ । आफ्नै भाईका नाममा वडाध्यक्षले अनुदान दिलाएर नितीगत भ्रष्टचार गरेको खुलेको हो ।

 

यस्तै यही वडाका वडा सदस्य बिष्णु भट्टराईकी श्रीमती मुना भट्टराईलाई पनि आकाशकै जति जमिनमा खेती गरेको भन्दै सोहि बराबरको रकम भुक्तानी गरिएको छ ।

 

भट्टराईले पनि त्यो परिणाममा खेती गरेको भेटिएन । यसरी जनप्रतिनिधीहरु आफ्नै परिवारमा अनुदानका रकम त्यो पनि फर्जी कागज बनाएर पारिरहेका छन् ।

 

यति मात्रै कहाँ होर वडा नं १ देखी ५ सम्मका विभिन्न किसान तथा कृषि समुहका नाममा दिइएको सो अनुदानमा अधिकांसकको फर्जी कागजात छ भने कोहि कर्मचारी त कोहि जनप्रतिनिधीका आफन्त छन् ।

 

यस्तो घटना भएपछि नेकपा एमालेको चुलाचुली गाउँ कमिटीले यहाँका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलाई भेटेर सार्वजनिक रुपमै ज्ञापन पत्र दियो ।

 

ज्ञापन पत्र दिदै यो कार्यक्रमका संयोजक तथा एमाले नेता अनुप अधिकारीले गाउँपालिकामा वर्षौ देखी सिमल तरुल खेती गर्दै आएका किसानलाई पाखा लगाउँदै खेती नै नगरेका र फर्जि कागजात बनाएर वितरण गरिएको अनुदान प्रति आक्रोस पोख्नु भयो ।

 

पार्टिसँगै यहाँ रहेको यूवा सघंले यहि विषयमा अर्को ज्ञापन पत्र पनि बुझायो । यसरी किसानमारा काम गरेको भन्दै त्यहाँ उपस्थित भएका पार्टिका कार्यकर्ता र केहि किसानका प्रतिनिधीहरुले गाउँपालिका र अध्यक्षका विरुद्धमा नारा जुलुस पनि गरेका थीए ।

सयौको संख्यामा भएको उपस्थितीलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केरुङले अनियमित तरिकाले वितरण भएको भए त्यसलाई उच्च स्तरिय छानविन गरि कार्वाहिको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

चुलाचुली गाउँपालिका क्षेत्रका किसानलाई संघिय सरकारबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालन हुने गरि निर्धारण गरेको शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रम शिर्षकमा सञ्चालन हुनुपर्ने भएपनि त्यसको शिर्षकनै परिवर्तन गरि ७० लाख रुपैँया पैसा गाउँपालिकाको कार्यपालिका बैठकबाटै अनियमितता भएको ठहर नेकपा एमालेको छ ।

Share: