झापामा चिया मजदुरको मागः ‘ज्याला बढाउ’ उद्यमी भन्छन् :‘बृद्धि गर्न सकिदैन’

 

दमक/
हरेक आर्थिक वर्ष सुरु भएपछि नयाँ ज्यालादर कायम हुन्छ । श्रम ऐन-२०७४ अनुसार गत साउन १ देखि नयाँ ज्याला कायम हुनुपर्ने हो ।
तर साउनको पहिलो साता बितिसक्दा समेत सरकार र रोजगारदाताले ज्यालावृद्धि नगरेपछि झापाका चिया श्रमिक आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालावृद्धि, योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृतलगायत ४ बुँदे माग राखी चिया श्रमिक असार ३१ देखि आन्दोलनमा छन् । तर आन्दोलन थालेको नवौं दिनसम्म उनीहरुको मागको सुनुवाइ भएको छैन ।

श्रमिकले माग सम्बोधन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले ४ बुँदे माग सम्बोधन गर्न ३० दिनको अल्टिमेटम समेत दिएका छन् । आगामी भदौ ७ भित्र माग पूरा नभए सम्पूणर् चिया बगान तथा कारखाना बन्द गर्ने उनीहरुको चेतावनी छ ।

चिया श्रमिकले ज्यालावृद्धिका लागि लगातार तीन दशकदेखि आन्दोलन गर्दै आएका छन् । पञ्चायती व्यवस्था रहेसम्म चिया बगानका श्रमिकले ज्यालावृद्धिका लागि आवाज उठाउन सकेनन् । त्यसबेला बगान मालिकले दया-मायाले बढाइदिएकै ज्यालामा श्रमिक काम गर्न बाध्य थिए । महिलाले डेढ रुपैयाँ ज्याला पाउँदा मरद (पुरुष) को पौने दुई रुपैयाँ दैनिक ज्याला थियो । यो ज्याला बढेर दैनिक तीन रुपैयाँ पुग्यो । तीनबाट बढेर ७, ९, १२ हुँदै १७ रुपैयाँ पुग्यो ।

श्रमिकले २०४७ सम्म दैनिक १७ रुपैयाँ ज्यालामा चिया बगानमा काम गर्थे । २०४६/४७ को जनआन्दोलन पछि चिया बगानका श्रमिकले पनि ज्यालावृद्धिको आवाज उठाउन थाले । त्यसबेला पहिलो पटक उनीहरुले न्यूनतम ज्यालावृद्धिको माग राख्दै चिया मालिकहरु समक्ष मागपत्र बुझाएका थिए । माग पत्रपछि सतप्रतिशत वृद्धि भइ उनीहरुको न्यूनतम ज्याला ३२ रुपैयाँ पुगेको थियो ।

२०४७ पछि श्रमिकले प्रत्येक दुई/दुई वर्षमा ज्यालावृद्धिको माग गर्दै मागपत्रहरु बुझाउन थाले । मागपत्र नबुझाएसम्म उद्यमीहरुले उनीहरुको न्यूनतम ज्यालावृद्धि गरेनन् ।

श्रमिकको मागपत्र तथा आन्दोलनका कारण २०४९ मा न्यूनतम ज्याला दैनिक ४० रुपैयाँ तोकियो । यसरी नै श्रमिकको ज्याला ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३, २७८ हुँदै ४ सय ३५ रुपैयाँ पुगेको इतिहास छ ।

ज्याला बढाउँन सकिदैन : उद्यमी

चिया उत्पादक उद्यमीहरू भने श्रमिकले माग गरे अनुसार ज्याला वृद्धि गर्न सक्ने अवस्था नरहेको बताउँछन् ।‘श्रमिकले मागेअनुसार ज्यालावृद्धि गर्न सक्ने अवस्था नरहेको चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताउनु भयो । ‘उत्पादित चियाको मूल्य छैन , चिया उत्पादनमा लागत मूल्य बढेको बढेकै छ । ८७ रुपैयाँ ज्याला कसरी बढाउनु ?’ उहाँले आफ्नै पीडा सुनाउनु भयो । श्रमिकको अहिलेको माग सम्बोधनमा सरकारको सहयोग आवश्यक रहेको मित्तलको भनाई छ ।

झापामा २०१६ देखि चिया खेती सुरु भएको इतिहास छ । २०२१ सालको भूमिसुधारले जग्गामा हदबन्दी कायम गरेपछि जिल्लामा चिया खेती लगाउन किसान अग्रसर भएका थिए ।

तर, चिया खेतीको व्यवसायिक विस्तार भने २०५३/५४ देखि भएको पाइन्छ । श्रमिकले चिया बगानमा न्यूनतम ज्याला एक रुपैयाँदेखि काम गरेको इतिहास छ । त्यसबेला महिला र पुरुषको ज्याला फरक फरक थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp