पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ जना पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शेर्पाको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले बताए । आईसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान साढे एक बजे मृत घोषणा गरेका हुन् ।
यसअघि सोही दुर्घटनामा फिदिम नगरपालिका–१० की ४० वर्षीय सबिना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला–१ ढुंगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको निधन भएको थियो । झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत फिदिम–२ सामदिनमा दुर्घटना हुँदा सबिना र जितेन्द्रसँगै १५ जना घाइते भएका थिए ।
तीमध्ये काठमाडौं, बल्खु घरकी मिना लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको बीएन्डसी टिचिङ अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
थप ५ जनाको बिर्तासिटी अस्पताल र ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।