असार २६ देखि निरन्तर किन बन्द छ खोटाङको इलाका प्रशासन ?

खोटाङ — खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयमा नागरिकता वितरणलगायतका सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । गृह मन्त्रालयले शाखा अधिकृतको व्यवस्था नगर्दा असार २६ गतेदेखि सेवा बन्द भएको हो ।

इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण सिफारिसलगायतका सेवा बन्द हुँदा तीन पालिकाका सेवाग्राही मारमा परेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । उक्त ठाउँमा गृह मन्त्रालयले नायब सुब्बा मोहनबहादुर राईलाई असार २६ गतेसम्म ६ महिनाका लागि कायममुकायम जिम्मेवारी दिएर खटाए पनि म्याद थप नहुँदा समस्या आएको राईले जनाए ।

इलाका प्रशासन कार्यालयले सेवा बन्द गरेपछि खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेको राईको भनाइ छ । सेवा बन्द भएपछि टुवाखोलादेखि दक्षिणका २१ वडाका सेवाग्राहीलाई मार परेको राईको भनाइ छ । सेवा प्रवाहका लागि गृह मन्त्रालयमा पहल भइरहेको समेत राईले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp