Search
Close this search box.

झापामा ट्याक्टरमा लोड गरिएको सखुवा जातको गोलिया काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ट्याक्टर चालक बुद्धशान्ति गाउँपालिका- ४ निवासी २४ वर्षीय सविन विश्वकर्मा र ट्याक्टरमा सवार सोही ठाउँका ३६ वर्षीय धनाहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

बुद्धशान्ति-६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनभित्र काठ चोरी तस्करी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेको टोली तत्काल खटिएको थियो । प्रहरीले सोमबार बेलुका पौने ६ बजे वनभित्रबाटै मे १ त ६५३८ नम्बरको ट्याक्टर सखुवा जातको गोलिया काठ लोड गर्दागर्दै अवस्थामा बरामद गरिएको डीएसपी रिजालले बताए ।

 

ट्याक्टरमा १६ थान गोलिया अर्थात् ५८।२२ क्यु फिट काठ फेला परेको थियो । ‘खुलेआम वनभित्र काठ काटेको देखिन्छ,’ डीएसपी रिजालले भने, ‘वनका पदाधिकारी कोही घटनास्थलमा थिएन, त्यहाँबाट काठ ल्याउन थप प्रहरी टोली पठाउनु पर्‍यो ।’ बरामद गरिएको काठ, ट्याक्टर र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp