दमक/
झापाको दमक नगरपालिका भित्र अहिले भत्कीएका सडकहरु टाल्ने काम भइरहेको छ । नागरिकहरुको निरन्तर खवरदारी तथा पहलका बिचमा सुरु भएको काम टालटुलेनै भइरहेको जनगुनासो बढ्न थालेको छ ।
दमक वडा नं. ३ राम पौडेलका अनुसार ढुकुर पानी चौक उतर बेलडाँगी -कृष्ण मन्दिर सडक खण्ड अन्तर्गत ढुकुर पानी चौक दक्षिण विद्यालय क्षेत्रको भत्किएको सडक मर्मत कार्यमा चरम लापरबाही भएको छ । ‘पानी परिरहेको समयमा राती १० बजे मर्मत सम्भार गरिएको र भोलिपल्ट नै मर्मत सम्भार गरेको स्थान उस्तै बनेको छ ।’ पौडेले बताउनु भयो ।
यहाँका जीणर् बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको भेटिएपछि नगरपालिकाको पूर्वाधार विकास समिती, अनुगमन समितीले निरिक्षण पनि गर्ने गरेको पूर्वाधार विकास समितीका अध्यक्ष भीम पौडेलले जानकारी दिनु भयो । ‘कहि केहि गुनासा आएमा हामी तुरुन्तै ती ठाउँमा पुग्छौ कमजोरी भएको रहछ भने त्यहिबाट कामको जिम्मा लिएकालाई तत्काल सुधार गर्न निर्देशन दिने गरेका छौ ।’ अध्यक्ष पौडेलले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो ।
सडक बोर्डबाट दमकका विभिन्न सडकहरू मर्मतका लागि अग्नि एन्ड सन्स कनकाई झापाले १ करोड १२ लाखमा ठेक्का सम्झौता गरेको दमक नगरपालिकाले जनाएको छ । यस अन्तर्गत नगरका विभिन्न १२ वटा सडकहरू मर्मत सम्भार गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको छ । निरन्तर पानी परेको तथा वर्षाको समयमा काम भइरहँदा यसको प्रभावकारिताको विषयमा कुरा उठ्न थालेको छ ।
दमक नगरपालिकाको पुर्वधार शाखाका इन्जिनियर अनन्त सेनेहाङ अनुसार आफूहरूले यस विषयमा निर्माण व्यवसायीलाई सचेत गराएको उल्लेख गर्नु भएको छ । कामको जाँच गरेर मात्र भुक्तानी हुने भएकाले सम्झौता बमोजिम काम नगरे बजेट निकासा नगर्ने सेनेहाङले स्पष्ट पार्नु भयो ।