दमक/
झापाको दमकमा सम्पन्न प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी भलिबल पेजको टिमले हात पारेको छ ।
दमकस्थित प्रदेशस्तरीय भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा खोटाङ भलिबल क्लबको टिमलाई ३–० को सोझो सेटमा हराउँदै सभापोखरीले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सभापोखरीको टिमले नगद ५१ हजार रुपैयाँ राशीको पुरस्कार हात पारेको छ भने उपविजेता खोटाङले नगद ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल भोजपुरको टिमले नगद १५ हजार रुपैयाँ हात पारेको छ । विजेता तथा उपविजेता टिमले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन ।
गत १९ भाद्रदेखि शुरु भएकोे कोशी प्रदेशस्तरीय सो खुल्ला महिला भलिबल प्रतियोगिताको बेस्ट सेटर सभापोखरीकी तनु श्री, बेस्ट ब्लकर पाम्पी, वेस्ट डिफेन्सर लिबेरो पिएली, म्यान अफ दि सिरिज सर्मिष्टा, बेस्ट सर्भिसको उपाधि भोजपुरकी सोमा श्रेष्ठ र बेस्ट स्पाइकर खोटाङकी अञ्जली खडका घोषित भए भने वेस्ट कोचका रुपमा सभापोखरीका सतिस चौधरी उभिन सफल भए ।
दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्य र भलिबल प्रशिक्षण केन्द्रका सदस्य समेत रहेका अन्तराष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुलाई दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, भलिबल संघकी केन्द्रीय सल्लाहकार ज्योती केसी, वरिष्ठ भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, प्रशिक्षक एवं झापा खेलकुद सहायक प्रशिक्षक हेमा थापा, कोशी प्रदेश रेफ्रि कमिसन सदस्य रोशन दाहाल लगायतले पनि पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।