काठमाडौ/
केन्द्रदेखि स्थानीय नेतासम्म कुनै न कुनै रूपमा आर्थिक रूपमा अपारदर्शी गतिविधिमा जोडिएको भन्दै माओवादीले तीनमहिने ‘विशेष रूपान्तरण’ अभियान चलाएको छ ।
साउन तेस्रो साताको केन्द्रीय समितिको निर्णयअनुसार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ गर्ने निर्णयसँगै पार्टीभित्र आर्थिक पारदर्शिताको विषय पनि उठेको हो ।
माओवादीमा अपारदर्शी ढंगले आर्थिक कमाउधन्दाले बलियोसँग जकडिएकाले नेता तथा कार्यकर्ताको रूपान्तरण सहज नभएको माओवादीभित्रै आशंका छ ।
माओवादीले नेता तथा कार्यकर्ताको कार्यशैलीको शुद्धीकरण गर्ने भन्दै पटकपटक निर्णय गरे पनि झन् प्रदूषित हुँदै गएको स्वयं माओवादीको स्विकारोक्ति छ ।
आर्थिक अपारदर्शी गतिविधिका कारण माओवादीमा नवधनाढ्य र सामान्य गरी दुई वर्ग देखिएको नेताहरूले बताएका छन् । शान्ति प्रक्रियामा आएपछि सत्ता र शक्तिको नजिक हुने नेता तथा कार्यकर्ता नवधनाढ्य वर्गमा परिणत भएको, सशस्त्र युद्धमा त्याग गरेका व्यक्तिको कदर नभएको र उनीहरूलाई दैनिक जीवन गुजारा गर्न कठिन भएको पार्टीभित्र व्यापक गुनासो छ ।
जसका कारण श्रमजीवी, निम्न वर्गको वकालत गर्ने माओवादीमा हुने खाने र हुँदा खाने वर्गको जन्म भएको पार्टीभित्र तीव्र असन्तुष्टि छ ।