बिदेशमा नेपालीको मृत्युको तथ्यांक भयावह ,अधिकतम मृत्यु मलेसियामा

काठमाडौ/
वैदेशिक रोजगारीमा गएका युवाहरूको मृत्युको ग्राफ निकै भयावह देखिएको छ।

पछिल्ला १५ वर्ष (२०६५ देखि २०८० भदौ १९ सम्म) मा वैदेशिक रोजगारीका लागि विाभिन्न मुलुक पुगेका १२ हजार ३५७ जनाले ज्यान गुमाएका छन्।

यो संख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो। अवैध प्रकृया तथा माध्यमबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेहरूको संख्या जोड्ने हो भने विदेशी भूमिमा ज्यान गुमाउनेहरूको संख्या अझ भयावह छ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने भन्न छुटाउँदैन। तर व्यहारमा भने सुरक्षित बनाउने पहल हुन सकेको देखिँदैन।

बोर्डको तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३१.८९ प्रतिशत नेपालीले ज्यान गुमाएका छन्। साउदीमा २७.१९ र कतारमा १९ प्रतिशतले ज्यान गुमाएका छन्।

यो मुलुक नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक रहेको र यहाँ काम गर्न जाने श्रमिकहरूको संख्या पनि ठूलो रहेका कारण मृत्युको संख्या पनि बढी देखिएको हुन सक्ने अधिकारीहरू बताउँछन्।

बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले पछिल्लो समय सडक दुर्घटना तथा आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या बढेको बताए।

‘जापान र दक्षिण कोरियामा आत्महत्याको दर बढ्दो देखिएको छ। यी मुलुकहरूमा कडा परिश्रम गर्नुपर्ने, खर्च बढी हुने जस्ता समस्याका कारण पनि कतिपय युवाहरूले आत्महत्या गर्ने गरेको पाइएको छ,’ उनले भने।

Share: