९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

संखुवासभा/

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प भएको छ।

 

प्रवेशमार्गको छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले विरोध गरेपछि काम ठप्प भएको हो। स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम रोकिएको जनाएको छ।

 

प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनुपरेको बताए। स्थानीयले प्रवेशमार्गको छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै आएका छन्।

 

छ्याङकुटीबाट पुखुवासम्म ४५४ रोपनी जग्गाको मुआब्जा बाँड्न बाँकी छ। मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ। उनीहरू मुआब्जा माग गर्दै विगत सात वर्षदेखि आन्दोलित छन्।

 

अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पीडीए)मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक आठ करोड नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने शर्त उल्लेख छ।

 

जिल्ला प्रशासन कार्यालयमा गठित छूट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी-दिदिङ सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निणर्य गरेको थियो। तर, हालसम्म प्रभावितले मुआब्जा पाएका छैनन्।

 

आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ। आयोजना बनाउन रु.एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ। अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीय सहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन्।

 

Share:

Facebook
Twitter
Email
WhatsApp