काठमाडौ/
चिकित्सक तथा सम्पूणर् स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइदै,शान्ति सुरक्षा कायम गर लगायका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग छ ।
यसअघि मंगलबार गृहमन्त्रालयमा सरकार र आन्दोलित चिकित्सकका प्रतिनिधिहरूबीच दुई बुँदे सहमति भएको थियो।
मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनबमोजिम कारबाही गरिने र सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्दा हुने दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना नागरिकले सहजै देख्नेगरी राख्ने सहमति भएको थियो।
सोही अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बुधबार चिकित्सकमाथि कानुनी कारबाही गरिने र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्दा हुने दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै स्वास्थ्य संस्थामा टाँस्न आग्रह गरेको थियो।
तर, उनीहरूले आफ्ना सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने अडान लिएका छन्।
यस्तै,पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई कानुन बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निणर्य पनि भएको मन्त्रालयले जनाएको छ ।