काठमाडौ/
सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ।
देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका नागरिकलाई चाडपर्व मनाउन घर जान सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो। घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ। नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ।
लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताउँछन्
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ।
दसैँका यात्रुहरूले समयमै गन्तव्यमा पुग्न कठिन
सरकारले समयमै सडक मर्मत नगर्दा दसैँका यात्रुहरूले समयमै गन्तव्यमा पुग्न कठिनाइ हुनसक्ने यातायात व्यवसायीले बताएका छन् । दसैँका लागि आजबाट सुरु भएको अग्रिम टिकट बुकिङमा यात्रुहरूको उल्लेख्य चाप रहे पनि सडकको अवस्थाले गर्दा यात्रुहरूले सोचेजस्तो सहजै यात्रा नहुन सक्ने उनीहरुले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुहरूको सुरक्षा र सहज सेवा प्रदान गर्न यातायात व्यवसायीले सक्दो प्रयास गरिरहेपनि कतिपय स्थानमा सडकको जीणर् अवस्थाले केही कठिनाइ उत्पन्न हुनसक्ने बताए । उनले चाडवाड र भीडभाडका बेला यात्रुहरूले पनि सजगता अपनाउनुपर्ने भन्दै भाडामा नठगिउन् भनेर यातायात व्यवस्था विभागको वेबसाइटमा भाडादर राख्न लगाएको बताए ।