काठमाडौ/
सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ।
सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गरेका हुन्।
प्रधान न्यायाधीशले आफ्नो संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।
सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निणर्यबाट आजदेखि त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो।
पारिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ।