इलाम/
इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन्।
इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।
यहि असोज १६ गते सिक्किमको टिस्टा नदीमा भिषण बाढी आउँदा १४ जना भन्दा धेरैको मृत्यु भएको छ भने सयौँ मानिस हराइरहेका छन्। बाढीबाट २० हजारभन्दा धेरै मानिस प्रभावित बनेका छन्।
एक सातादेखि सम्पर्कमा नआएका नेपाली पनि बाढीमा परेको हुनसक्ने आशंका गर्न थालिएको छ।
‘हिजोसम्म १० जना नेपाली सम्पर्कमा नभएको जानकारी हामीलाई आफन्त र छिमेकीबाट आएको थियो,’चौहानले मंगलबार बिहान उज्यालोखबरसँग भने, ‘हामीले यताबाट रोजागरीको लागि सिक्किम गएका को को सम्पर्कमा छैनन् भनेर खोजी गर्दा हराएका भनिएका ६ जना सम्पर्कमा आइसकेको जानकारी पायौँ। चार जना भने अझै परिवारको सम्पर्कमा आउनु भएको छैन। उहाँहरुको अवस्थाको विषयमा हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ।’
सम्पर्कमा नआएका नेपालीहरुको विषयमा जानकारी लिन मंगलबार बिहान वडा कार्यालयले आफन्त र सरोकारवालासहितको बैठक बोलाएको थियो। त्यो बैठकमा पनि यस विषयमा छलफल भएको वडाध्यक्ष चौहानले बताए।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार इलामका सेनबहादुर कार्की र लाक्पा शेर्पा बेपत्ता भएको जानकारी आफन्तबाट स्थानीय प्रशासनलाई प्राप्त भएको छ। तर, उनीहरुको विषयमा सिक्किम प्रशासनबाट कुनै जानकारी पाउन नसकिएको उनले बताए।
टिस्टा नदिमा आएको बाढीले टेलिफोन र विद्युतसमेत अवरूद्ध गरेकाले सिक्किममा सम्पर्क स्थापित हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले भने अहिलेसम्म सिक्किमको बाढीमा इलामका मानिस हराएको विषयमा आफूहरुलाई कुनै औपचारिक जानकारी नआएको बताए।