अनिलको मृत्यु प्रकरण : श्रीमती र ससुरा विरुद्ध मुद्धा दर्ता

दमक/

झापाको कमल –६ का ३६ बर्षिय अनिल कार्कीको आत्महत्या प्रकरणमा संलग्न भएको भन्दै श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता भएको छ ।
वडाअध्यक्ष नरेन्द्र भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाअध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र आत्महत्या दुरुत्साहनको मुद्धा चलाएको हो ।

प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना पोख्रेलसहित उनका बुबा पूण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएर आजनै जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले बताए ।

कार्की आत्महत्यामा उनकी श्रीमतीसहित ससुराको हात रहेको भन्दै निजहरु विरुद्ध उनका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्दा विहानै देखि त्यहाँ आफन्तहरुले प्रर्दशन गरेका थिए ।

३४ बर्षिय कार्की हिजो साँझ घरमै झुन्डिएको अबस्थामा फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा बुढाथोकीले बताए ।

केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ ।

दशै विदामा घरआएका कार्कीमाथि टिकाकै दिन श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दमक प्रहरीमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि वडाअध्यक्ष नभ्याउने भएपछि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो ।

दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ ।

Share: