अनील मृत्यू प्रकरण : ‘अनुसन्धान चित्त बुझ्दो भइरहेको छैन’

दमक/
झापाको कमल -६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म मृतकको शव नबुझ्ने परिवारले अडान लिएका छन् ।

हिजो मात्रै मृतक कार्कीका आफन्तले श्रीमती चाहना पोखरेल, ससुरा पुण्यप्रसाद पोखरेल र कमल ६ का वडाध्यक्ष नगेन्द्र भट्टराईका विरुद्धमा मुद्धा दर्ता गर्न इलाका प्रहरी कार्यालय दमक पुगेका थीए । तर प्रहरीले वडाध्यक्ष भट्टराईको नाम कटाएर श्रीमती र ससुराका विरुद्ध मात्रै उजुरी दर्ता गर्यो ।

मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले आज दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुति हुन नसकेको बताएका छन् ।

उनीहरुले कार्कीमाथि उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद र वडाध्यक्ष नरेन्द्र भट्टराईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि दावी गरे ।

कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । कार्कीको मृत्यु भए लगत्तै श्रीमतीसहित ससुरा भने फरार भएका थिए ।

दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशै विदामा घरआएका कार्कीमाथि श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कार्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए ।

सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो ।

जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका कार्कीका श्रीमतीसहित ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय दमकले आत्महत्या दुरुत्साहन मुद्धा चलाएको छ ।

प्रहरीले भने वडाअध्यक्षलाई घटनामा उन्मुक्ति दिन जाहेरीनै फरक बनाएर मुद्धा चलाएको कार्की परिवारले बताएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp