सुनसरी/
सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निशुल्क दाहसंस्कार गर्दै आएको हो।
यसअघि घरदेखि घाँटसम्म शवबाहन निशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरुका लागि बुढी गंगा मुक्त्ती घाटमा निशुल्क दाहसंस्कार गरिँदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । अहिलेसम्म १०४ जना विपन्नलाई निशुल्क दाहसंस्कार गरिएको उपमहानगरले जनाएको छ ।
पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमा नै निशुल्क व्यवस्था गरेको मेयर पौडेलले बताए ।
‘जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो । मृत्यु अहिलेसम्म कसैले रोक्न सकेको छैन। मानिसको मृत्यु पछि मृतक शरीरलाई सवै धर्मालम्बीहरुले आ–आफ्नै तरिकाले व्यवस्थापन गर्ने गर्दछन्,’ उनी भन्छन्, ‘मृत्यु पश्चाच गरिने शव व्यवस्थापनमा ठुलो धनराशी खर्च पनि हुने गरेको छ । तर विपन्न वर्गले भने शव व्यवस्थापन गर्दा पनि ऋण खोज्नुपर्ने बाध्यता छ ।’